27/10/2026
एनपीएललाई लिएर उत्साहित नेताहरू !
फरक–फरक राजनीतिक विचार र सिद्धान्त बोकेर प्रतिस्पर्धा गरिरहेका प्रमुख राजनीतिक दलका नेताहरू नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा भने एक ठाउँमा उभिएका छन्। नेताहरूले लिगमा सहभागी आठवटै टिमलाई शुभकामना दिँदै नेपाली क्रिकेटको विकास र एनपीएलले सिर्जना गरेको राष्ट्रिय उत्साहप्रति खुसी व्यक्त गरेका छन् । कुनै पनि टिमको पक्ष नलिई उनीहरूले उत्कृष्ट प्रतिस्पर्धा र नेपाली क्रिकेटको थप उन्नतिको कामना गरेका छन्।
राष्ट्रिय उत्सवका रूपमा रहेको एनपीएलले प्रमुख दलका नेताहरूलाई जोडेको छ ।
लिगको सुरुवाती खेल सुरु भएकाले प्रमुख नेताहरूले कुनै टिमको पक्ष लिएका छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनपीएलको तेस्रो संस्करणको भव्य सफलताको कामना गर्दै हालसम्म कुनै पनि टिमको पक्षमा खुलेका छैनन्। उनले सामाजिक सञ्जालमार्फत एनपीएलले नेपाली खेलकुदमा बलियो सम्भावना देखाएको बताएका छन्। ‘नेपाली खेलकुदको राष्ट्रिय महोत्सव ‘नेपाल प्रिमियर लिग’ को तेस्रो संस्करण सुरु भएको छ। यो सफलता नेपाली खेलकुदमा हाम्रो शक्ति र सम्भावनाको बलियो उदाहरण हो,’ उनले भने, ‘यो सफलताले एउटै कुरा भन्छ कि ‘हामी सक्छौं’ । एनपीएलको तेस्रो संस्करणको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु।’
रास्वपा सांसद दीपक बोहराले सभापति लामिछानेले समग्र एनपीएलको सफलताको कामना गरेको बताए। ‘एनपीएल आफैंमा नेपाली खेलकुदको राष्ट्रिय महोत्सव भएकाले सहभागी सबै टिमले उत्कृष्ट प्रतिस्पर्धा गरून् भन्ने सभापतिको शुभकामना छ।’
रास्वपा महामन्त्री विपिन आचार्यले एनपीएलले नेपाली खेलकुदमा भव्य उत्साह ल्याएकाले सबै टिमले उत्कृष्ट प्रतिस्पर्धा गर्ने सम्भावना रहेको बताए। ‘सबै टिमले उत्कृष्ट प्रतिस्पर्धा गरेर उपाधि जित्नेछन्। त्यसैले सबै टिमलाई जितको शुभकामना छ,’ उनले भने।
कांग्रेस सभापति गगनकुमार थापाले एनपीएलका खेलहरू रुचिपूर्वक हेरिरहेको उनको सचिवालयले जनाएको छ। उनले पनि हालसम्म कुनै टिमको पक्ष लिएका छैनन्। ‘सभापतिले कुनै टिमको पक्ष लिनुभएको छैन। जुन टिमले जिते पनि त्यो विशेष हुनेछ,’ थापाको सचिवालयले बतायो। थापाले सामाजिक सञ्जालमार्फत सबै टिमलाई शुभकामना दिएका छन्। ‘नेपाली क्रिकेटलाई उचाइमा पुर्याउन एनपीएलले भूमिका खेलेको छ। सबै टिमबीच कडा प्रतिस्पर्धा हुने नै छ। सबै टिम लिग जित्ने तयारीमा छन्,’ उनले भनेका छन्, ‘जुन टिमले जिते पनि नेपालको क्रिकेट क्षेत्रका लागि महत्त्वपूर्ण हुनेछ। हाल मेरो सबै टिमलाई शुभकामना छ।’
उनले नेपाली क्रिकेट यो स्थानमा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको बताएका छन्। ‘सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई यस अवसरमा सम्झँदै नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ उनको भनाइ छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एनपीएल नियमित हेर्ने गरेको उनको सचिवालयले जनाएको छ। उनका स्वकीय सचिव निरु पालले कुनै टिमप्रति पक्षधरता नदेखाई रोचक प्रतिस्पर्धाका रूपमा लिएको बताइन्।
‘अध्यक्षज्यूले अहिलेसम्म कुनै टिमको पक्ष लिनुभएको छैन। सबै टिमबीच रोचक प्रतिस्पर्धा भएर एउटा टिमले उपाधि जितोस् भन्ने चाहनुभएको छ,’ उनले भनिन्।
एमालेले एनपीएलको तेस्रो संस्करणका अवसरमा भव्य सफलताको शुभकामना दिएको छ। ‘खुला चौर र रुखको हाँगामा बसेर हेरिने नेपाली क्रिकेट आधुनिक प्यारापिट र फ्लडलाइटमुनि खेलिने युगमा प्रवेश गरेको छ,’ एमालेले भनेको छ, ‘क्रिकेटको यो ऐतिहासिक विकास र आधुनिक पूर्वाधार निर्माणमा नेकपा (एमाले) सदैव प्रतिबद्ध र अग्रसर रहँदै आएको छ। समग्र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको भव्य सफलताको शुभकामना।’
कांग्रेस–एमाले गठबन्धन सरकारका प्रधानमन्त्रीका रूपमा ओलीले ०८२ असार ३१ मा पहिलो मन्त्रिपरिषद् बैठकबाट ३०० दिनभित्र कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्ने निर्णय गरेका थिए। यो ओली सरकारको पहिलो निर्णय थियो। त्यसपछि ०८२ कात्तिकमा फ्लडलाइट जडान गरिएको थियो। त्यससँगै रातमा पनि खेल्न सकिने भएको छ।
त्यसअघि ०७९/८० को बजेटमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न बजेट विनियोजन गरेका थिए।